Source
kantipur.ekantipur.com
भाद्र ८, २०७४
काठमाडौं

मोदीले भने– स्थानीय निकायको चुनावको लागि बधाई देउवाले भने– संविधान संशोधनको प्रयास अझै हुन्छ

भाद्र ८, २०७४- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा बधाई दिंदै त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता सकिएसंगै संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले सो प्रतिक्रिया दिएका हुन् । उनले भारतले नेपालको आर्थिक समृद्धी र विकास चाहेको बताउँदै संविधानको सफलताका साथ लागु गर्न शुभकामना समेत दिएका थिए ।

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीचको औपचारिक भेटवार्ता सकियो अाठ बुँदे समझदारीमा हस्ताक्षर हुँदै, चारवटा बुँदा पुनर्निर्माण सम्बन्धी

प्रधानमन्त्री देउवासँग दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन विशेष छलफल भएको र हिमालय जति कै पुरानो मित्र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने मोदीले बताए । यस्तै देउवाले आफूलाई अरुण ३ को शिलान्यासको लागि निम्ता दिएकोमा आभार प्रकट गरे । उनले नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफूले संविधान संशोधन मार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन खोजे पनि संसदमा दुई तिहाई बहुमत नपुग्दा संशोधन हुन नसकेको स्पष्टोक्ति दिएका थिए । उनले भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन हुनेमा आशावादी रहेको समेत बताए ।

यस्तै उनले कटैया–कुशवाहा र रक्सौल– परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद समेत दिएका थिए ।